नेपाली मिडियामाथि भयानक आक्रमण
संविधानसभाद्वारा संविधान जारी गनुपर्ने अन्तिम मिति ( २०६९ जेठ १४) नजिकिदै जाँदा राजनीतिक पार्टीहरुले राज्यपुनर्संरचना सम्बन्धी गरेको सहमतिले देशका विभिन्न स्थानमा आन्दोलन सिर्जना ग¥यो । राज्यपुनर्संरचनासम्बन्धी भएको निर्णयले आफ्ना मागलाई सम्बोधन गर्न नसक्ने भन्दै विभिन्न जातजाति र क्षेत्रका मानिसले नेपाल बन्दलगायतका विभिन्न आन्दोलनका कार्यक्रमहरु चर्काउन थाले । देशको सुदूरपश्चिमाञ्चल क्षेत्रका जनताले राज्य पुनर्संरचना गर्दा आफ्नो क्षेत्रलाई विभाजित गर्न नहुने भन्दै सुदूरपश्चिम बन्द जारी राखेका थिए भने सोही क्षेत्रका तराईबासी थारु समुदायले आफ्नो समुदायका लागि भिन्नै राज्यको माग गर्दै अन्य सुदूरपश्चिमेलीले गरेको बन्दको विरुद्धमा उत्रिए । त्यसैगरी देशका अन्य स्थानमा पनि विभिन्न जातिगत समुदायले राज्य पुनर्संरचना गर्दा आफ्ना हकअधिकार स्थापित गर्नका लागि आन्दोलन जारी राखे । यसरी देशका विभिन्न स्थानमा आन्दोलन जारी रहँदा नेपाली मिडियाको अवस्था अत्यन्त दयनीय रह्यो । विभिन्न जातजातिका बन्द आह्वानकर्ता र आन्दोलनकारीहरुले नेपाली सञ्चार जगतमाथि आक्रमण, धम्की, ज्यान लिने धम्की, समाचार संकलनमा अवरोध, प्रेस, पत्रकारका सवारीमा तोडफोड देशभर जारी राखे । नेपाली मिडियाले इतिहासमै पहिलोपटक यस किसिमको आक्रमण खेप्नुप¥यो । यी आक्रमणले नेपाली प्रेस जगतको कालो दिन भनिएको शाही शासनलाई पनि बिर्साइदियो । यी विभिन्न जातिगत र क्षेत्रगत समूहहरुले आफ्नो अधिकारका लागि गरेका आन्दोलनका क्रममा अन्य जातिका मानिसको अधिकारलाई स्पष्टरुपमा हनन गरेको पाइन्थ्यो । उल्लेखनीय त यो छ कि आन्दोलकारीहरुले विभिन्न पत्रपत्रिकाका सवारी साधान र पत्रकारहरुलाई समाचार संकलनका लागि निर्वाधरुपमा हिडडुल गर्न समेत रोक लगाएका मात्र होइन कि, उनीहरुमाथि विभिन्न स्थानमा आक्रमण, हातपात गरे, धम्की दिए, र सवारीसाधन तोडफोड गरे ।
रिपोर्ट डाउनलोड गर्नुहोस्:











