You are here:: विज्ञ विचार रूपान्तरणका लागि प्रेस स्वतन्त्रता
 
 

रूपान्तरणका लागि प्रेस स्वतन्त्रता

E-mail Print PDF
User Rating: / 0
PoorBest 

–रामकृष्ण रेग्मी–*
सन् २०१२ को विश्व प्रेस दिवस वैशाख २२ मा विश्वभर मनाइँदा पत्रकार एवं सञ्चारकर्मीको जीवन सुरक्षाको प्रत्याभूति हुनुपर्ने तथा प्रेसको स्वतन्त्रतालाई समाजको रूपान्तरणमा प्रयोग गर्नुपर्ने सम्बन्धमा उठेको स्वर विशेष रूपमा उल्लेखनीय छ। त्यसमा धेरै देशको अनुभूतिको प्रतिनिधित्व भएको कुरा अन्तर्राष्ट्रिय आमसञ्चारकर्मीहरूले औंल्याएको पाइन्छ।

नेपालीको समसामयिक चासो पनि त्यसमा स्पष्ट रूपमा रहेको छ। पत्रकार यादव पौडेलको एक महिना अघि झापामा भएको दुःखद हत्याले खडा गरेको पत्रकारको जीउधन सुरक्षाको प्रश्नलाई दिवसले पनि सशक्त रूपमा उठाएको छ। नयाँ संविधानको परिवेशमा समाज परिवर्तन गर्ने प्रयास थाल्ने आशामा नेपाली रहेको यो घडीमा प्रेस स्वतन्त्रतालाई रूपान्तरणको निमित्त उपयोग गर्नेभन्दा बढी सान्दर्भिक कुरा अरू के नै हुनसक्छ र ?

सो दिवस हरेक वर्ष प्रेस स्वतन्त्रताको विहङ्गम सिंहावलोकन गर्ने तथा स्वतन्त्रताको अभ्यास गर्दा देखापरेका खतरा, आइपरेका अप्ठेरा पहिचान गरी समाधानका लागि आवाज उठाउने अवसर हो। पत्रकारिताको फाँटमा कार्यरत रहँदा मारिएका पत्रकारको स्मरण गर्दै तिनको सपना साकार पार्ने दृढता व्यक्त गर्ने, कानुनी राजको सबलतामा जोड दिने, एवं दण्डहीनताविरुद्ध सम्बद्ध सबैलाई सचेत गराउन कदम चाल्ने दिनका रूपमा पनि यसलाई लिने गरिएको छ। पत्रकार र प्रेस स्वतन्त्रको रक्षाको अडानलाई दरो पार्न यो दिनले विगत २१ वर्षमा विश्वभर पुर्‍याएको योगदानलाई आमसञ्चारविद्हरूले सम्झने गरेको पाइन्छ।

दिवसको सन्दर्भमा बिर्सन नसकिने एक प्रसङ्ग हो ः मे ३, १९९१ को विण्डहोक -घोषणापत्र। त्यसमा उल्लेख भएको यो कुरा मर्मस्पर्शी छ ः "मानव अधिकारको विश्व घोषणापत्रको धारा १९ अनुरूप कुनै पनि देशमा प्रजातन्त्रलाई विकसित गर्न र संवर्द्धित तुल्याउन तथा त्यहाँ आर्थिक विकास गर्न बहुता एवं विविधतामा आस्था राख्ने स्वतन्त्र प्रेसको स्थापना हुनु, सञ्चालन हुनु र प्रवर्द्धन हुनु अनिवार्य छ।" त्यसमा अन्तर्निहित सन्देश पनि रमाइलो छ। पत्रकारको सुरक्षा र प्रेसको रूपान्तरण शक्ति अन्योन्याश्रति छन्। पत्रकारको सुरक्षाविना स्वतन्त्र प्रेस रहन सक्दैन। अनि समाज रूपान्तरणका लागि चाहिने आर्थिक विकासका लागि पनि स्वतन्त्र प्रेसको उपस्थिति अनिवार्य छ।

यी कुरालाई व्यवहारमा उतार्न अपि|mकाको नामिबियामा भएको सो विण्डहोक घोषणापत्रदेखि विश्वले हर राष्ट्रलाई गुहारिरहेछ। केही सारपूर्ण कार्य भए पनि विभिन्न कारणले सुरक्षाको प्रश्न त्यति राम्ररी सम्बोधित हुन सकेको छैन। प्रेसभित्र रहेको रूपान्तरण शक्तिको उच्चतम प्रयोग पनि गर्न सकिएको पाइन्न। यसैले पनि दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुन र युनेस्कोका महानिर्देशक इरिना बोकोभाले विश्वभर पत्रकार र आमसञ्चार माध्यमकर्मीका लागि बढी स्वतन्त्र र सुरक्षित वातावरण तयार हुनुपर्ने अभिव्यक्ति दिनु भएको हो। दुवैले प्रेसलाई मानवको व्यक्तिगत अधिकारको स्तम्भ, स्वस्थ समाजको आधारशिला तथा समाज रूपान्तरणको ऊर्जा भनेर उल्लेख गर्दै त्यसको स्वतन्त्रतालाई जोगाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो।

हाँक

पत्रकारितामा गर्नुपर्ने कार्य थुप्रै छन्। तीमध्ये प्रमुख होः सत्य बोल्ने, छाप्ने र देखाउने दायित्वलाई निरन्तर पूरा गर्ने। त्यसलाई आर्थिक चुनौतीमाझ पनि कसरी निर्वाह गरिछाड्ने ? अनि अनेक आयामका राजनीतिक, व्यापारिक तथा सामाजिक प्रभाव वा दबाबलाई सामना गर्दै त्यही कर्तव्यपथमा कसरी डटिरहने ? हाँक सरल छैन, निकै पेचिलो छ। प्रजातन्त्रले नागरिकी तहमा सबैका लागि अभिव्यक्ति स्वतन्त्रता खोलेको समयमा आवश्यक पर्ने विविधताका कारण यो झन् जटिल बनिदिन्छ। समस्या रिपोर्टर वा उत्पादक र सम्पादकका लागि मात्र होइन, यो त माध्यमका प्रकाशक, व्यवस्थापक, स्वामी वा लगानीकर्ता सबैका सामु उपस्थित भइदिन्छ।

आमसञ्चार माध्यममा पत्रकारितालाई सेवा वा व्यापार कुन चस्माले हेर्ने भन्ने विषयमा जारी बहस पुरानै हो, तर त्यसको समसामयिक कडीको सार सधैं एकै रहिआएको छः त्यो दायित्वमा सम्झौता गर्नु हुन्न, व्यावहारिक सन्तुलन खोज्न नसकिने छैन। माध्यम नैतिकताको आशय पनि त्यही हो। हिजोआज त त्यसैलाई -जे एथिनोमिक्स भनेर जोर्नलिजम पत्रकारिता) नैतिकता तथा अर्थशास्त्रको समष्टिको रूपमा पनि चर्चा गर्न थालिएको छ। माध्यमलाई सामाजिक दायित्व सम्झाउन र अरूलाई पनि माध्यमप्रति सहनशील, सहयोगी र समझदार बन्न यसबाट सहयोग मिल्ने विश्वास धरैले लिएको पाइन्छ।

नेपालमा यस फाँटमा खासै केही प्रयास भएको पाइन्न। त्यसैले माध्यममा पनि समय परिवर्तनसँगै उब्जेका नयाँ सवाललाई कसरी समाल्दै जाने, त्यसका लागि आफू, आफ्नो संरचना, आफ्ना जनशक्ति तथा प्रविधिलाई कसरी चुस्त बनाउने भन्ने विषयमा खास सोच लिइएको देखिन्न। विशेषगरी माध्यमले रोज्ने विषय, प्रस्तुत गर्ने शैली तथा समस्या विश्लेषण गर्ने आधारमा समसामयिक व्यावसायिक सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ। खुला बजारमा माध्यमबीच हुने प्रतिस्पर्द्धालाई स्वस्थ रूपमा कसरी सामना गर्ने प्रश्नमा पनि अलमल छ। त्यसै गरी विविध प्रकृतिका बहुमाध्यमको वातावरणमा सहअस्तित्व भावले कसरी रहने भन्ने कुरो पनि किनारामा परिरहेको आभास हुन्छ।

माध्यम संस्थाहरूले आफू र नागरिक र विशेष गरी आफ्ना सामग्री प्रयोग गर्ने बीचको सम्बन्ध स्थापित गर्न, व्यवस्थापनलाई उत्पादनशील पार्न, संसाधनको प्रयोग कुशलतापूर्वक गर्न र आफ्नो सेवालाई अर्थपूर्ण पार्न निरन्तर सचेत रहनुपर्ने कुरामा पनि उचित ध्यान पुगेको देखिन्न।

यसैले एउटा आश्चर्यलाग्दो विरोधाभास सामुन्ने छ। जनमानसमा माध्यमप्रतिको अभिरुचि निकै नै बढ्दो छ, माध्यमको सङ्ख्या बढ्ने क्रम पनि जारी छ तर माध्यमप्रतिको जनविश्वास अपेक्षित रूपमा बलियो छैन। माध्यमले दिएकै आधारमा सूचनाको विश्वसनीयतालाई अपनाउने स्थिति छैन भन्ने धेरैको अनुभूति छ। माध्यम कसैको प्रयोग हो, औजार हो भन्ने सोच पनि नभएको होइन। त्यसलाई बदल्ने कसरी ? अनि त्यसका कारण उत्पन्न विश्वासको यो खाडललाई पुर्ने कसरी ? आजको पत्रकारिताको लागि यही नै चुनौती हो। यसलाई सम्बोधन गर्नका लागि पनि पत्रकारको सुरक्षा र प्रेसको स्वतन्त्रतालाई अभ्यासमा प्रत्याभूति गर्नु अनिवार्य छ।

सहनशीलता

आमसञ्चार माध्यमलाई प्रजातन्त्रको आधारशिला मानिन्छ। नेपालमा यसबारे कसैले शङ्का गरेको देखिन्न। तर प्रेसले खुलस्त पारेका कुरालाई, पारदर्शी बनाएका प्रसङ्गलाई र टीका टिप्पणी गरेको सन्दर्भलाई सहनशील भएर ग्रहण गर्ने प्रवृत्तिको खाँचो छ। व्यक्ति वा संस्थामा आफ्ना लागि प्रेसको प्रस्तुतिले अलिकति पनि असजिलो भयो भने प्रेसप्रति नै खनिने, शिष्टताको पनि ख्याल नराखी प्रतिक्रिया दिने, माध्यमलाई आरोप लगाउने प्रचलन पनि छ जुन बढ्दै गएर हिंसाका अनेक रूपमा परिणत हुन जानसक्छ र जसलाई दण्डहीनताको वातावरणले झन् बढाउने गर्छ। कहिलेकहीं यस्तो लाग्छ ः प्रजातन्त्रमा संस्था वा व्यक्तिले प्रेससँग कस्तो व्यवहार गर्ने भन्ने विषय नै अलमलमा परेको हो कि / वि.सं. २००७ पछिको दशक तथा २०४६ —२०६९ अवधिको स्वतन्त्र प्रेसको वातावरणमा त्यसबारे समाज अभ्यस्त हुन नसक्नु भनेको ठूलो चिन्ताको विषय हो।

प्रेसले बिराएमा, जानीजानी गल्ती गरेमा वा स्वतन्त्रताको दुरूपयोग गरेमा गर्ने सकिने शिष्ट प्रक्रिया, कानुनी कार्य देशमा नभएको होइन। तर त्यसको प्रयोग गर्ने प्रवृत्ति भने त्यतिसारो देखिंदैन। नागरिक वा संस्थाले प्रजातन्त्रमा प्रेसलाई कसरी उपयोग गर्ने, प्रेसप्रति कसरी प्रतिक्रिया जनाउने, गुनासा पोख्ने भन्ने विषयमा चेतना फैलाउने र प्रशिक्षण दिने कार्यक्रमको खाँचो देखिन्छ। यस्ता कार्यक्रमबाट प्रेसप्रतिको समझदारी, सद्भाव प्रवर्द्धन हुनजान्छ।

नेपाली प्रेसको संवर्द्धनका लागि अति आवश्यक आर्थिक संसाधन कहाँबाट जुटाउने ? यो प्रश्न पनि पत्रकारको सुरक्षा र प्रेसको रूपान्तरण शक्तिको बहसमा महत्त्वपूर्ण हुन आउँछ। आर्थिक व्यापारिक गतिविधिले विज्ञापनको माध्यमबाट त्यो संसाधन जुट्ने सम्भावना छ। तर लामो समयसम्मको आर्थिक अस्थिरताले गर्दा त्यो झिनो बन्न गएको यथार्थ छ। उत्पादक, व्यापारी, तथा सेवा प्रदान गर्ने संस्था वा व्यक्तिले प्रेसमा दिइने विज्ञापनको माध्यमबाट जनमानसमा पुग्ने प्रवृत्ति र संस्कार त्यतिसारेा व्यापक रूपमा हुर्कन सकेको देखिंदैन।

लगानी वर्षको क्रममा ध्यान दिनुपर्ने अनेक महत्त्वपूर्ण विषयमध्ये प्रेस र विज्ञापनको फाँटका कुरा पनि पर्छन्। तिनमा केही सारपूर्ण कार्य भएमा अहिले झिना देखिएका सम्भावना बलिया हुनेछन् र प्रेसले विकास र वृद्धिका लागि अति आवश्यक संसाधन प्राप्त गर्ने स्पष्ट छ। त्यसबाट प्रेसले रूपान्तरण ऊर्जा पाउने र पत्रकारलाई काम गर्ने सुरक्षित वातावरण बन्न सहज हुने आशा राख्न सकिन्छ।

(श्रोतः गोरखापत्र दैनिक, २५ वैशाख २०६९)

 
 

Comments

 
 
Follow us on Twitter